चितवन । स्थानीय तह निर्वाचन अन्तर्गत चितवन जिल्लाका मुख्य क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । नेपाली सेनाले जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार उक्त क्षेत्रहरुमा सुरक्षाको जिम्मेवारी लिएको हो ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बैशाख १५ गतेको जिल्ला सुरक्षा समितिको बैठकअनुसार स्थानीय तह निर्वाचनमा जिल्लाको शान्ति सुरक्षा तथा भयरहित वातावरण निर्माणका लागि चितवनका महत्वपूर्ण क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने बताए । आपतकालीन अवस्था र समयमै निर्वाचन नसकिएर लम्बिएको खण्डमा सेनाको समय थप्न सकिने समेत जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको जानकारी दिए।
पहिलो घेराको सुरक्षामा नेपाल प्रहरीले दिने भएकाले अहिले जिल्लाका मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको र मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमान तथा समाधानका उपायहरुका कामसमेत भइरहेको प्रवक्ता अधिकारीले बताए ।
