काठमाडौं । अबको एक महिनापछि नेपालमा कोरोना विरुद्धको ३४ लाख डोज खोप आउने भनएको छ । सवा २४ लाख डोज भेरोसेल खोप चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरि तीन साताभित्र काठमाडौं आइपुग्ने भएको हो । साउन १ गते र ८ गते थप दुई खेप खोप काठमाडौं भित्रिने जनाइएको छ ।
एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ बताइएको छ । तीन खेपमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई उडान हुनेछन् ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । चीनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ ।

