काठमाडौँ, २८ असाेज । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ । मङ्गलबार राति भएको दुर्घटनामा डुङ्गामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ ।
स्थानीय बासिन्दा भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटना भएको हो । भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब २० जना सानो डुङ्गामा सवार थिए ।
वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ । डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन् ।
दुर्घटनापछि रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो । घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल र स्थानीय गोताखोर परिचालन गरिएको थियो । उद्धारका क्रममा १३ जनाको शव फेला परेको जिल्ला अधिकारी सिंहले जानकारी दिइन् । घटनाको अवस्था बुझ्न स्थानीय अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।
त्यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका प्रत्येक परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ प्रदान गरिने उनले बताएका छन् ।
मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
