भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वीरगञ्जमा कर्फ्यू दिउँसो १ बजेसम्म थप, सामाजिक सद्भाव कायम गर्न प्रशासनको अपिल

वीरगञ्जमा कर्फ्यू दिउँसो १ बजेसम्म थप, सामाजिक सद्भाव कायम गर्न प्रशासनको अपिल

काठमाण्डौ, २२ पुष । पर्साको वीरगञ्जमा जारी कर्फ्यू आज दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म लगाएको कर्फ्यूको समयावधि थप गरी दिउँसो १ बजेसम्म पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ ।

यसअघि हिजो दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि त्यस क्रममा विरोध प्रदर्शन भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

संघीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा संघ–संस्थाहरूले पनि सामाजिक सद्भाव विथोल्ने खालका गतिविधि नगर्न आह्वान गरेका छन् । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण, भ्रामक तथा उत्तेजक अभिव्यक्ति सार्वजनिक नगर्न आग्रह गर्दै सार्वजनिक शान्ति सुव्यवस्था खलल पार्ने कार्यमा संलग्नलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गर्दै कुनै समुदाय वा धर्मलाई लक्षित गरी अवैधानिक गतिविधि गर्ने, घृणा फैलाउने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक कार्यमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ । यस्ता कार्य जहाँसुकै बसेर गरे पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ ।

यसैबीच मधेशी, थारु र मुस्लिम आयोगले पनि विज्ञप्ति जारी गर्दै सबै धार्मिक तथा सामाजिक समुदायबीच आपसी सद्भाव, सहिष्णुता र मैत्री कायम गर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले समेत धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न नागरिकलाई विशेष अनुरोध गरेको छ ।

प्रशासनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू बढेको भन्दै फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत प्लेटफर्मको सूक्ष्म निगरानी भइरहेको जनाएको छ । सामाजिक सद्भाव बिथोल्ने सामग्री पोष्ट वा प्रचार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.