भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

काठमाडौँ । सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन् ।

नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताइन्।मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो ।

बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् ।

बैठकमा दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभका खातिर आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् । परराष्ट्र सचिव लम्सालले नेपालीलाई रोजगारीका अवसर प्रदान गरेकामा ओमान सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै ओमानका नरेशको ‘२०४० दृष्टिकोण र रणनीति’का सन्दर्भमा थप अवसरहरूको खोजीका निम्ति आग्रह गरिन् । उनले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिइन् ।

नेपालमा लगानीका पर्याप्त क्षेत्र रहेका बताउँदै पराष्ट्र सचिवले जलविद्युत्, पर्यटन, हरित हाइड्रोजनलगायत क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरिन् । ओमानी प्रतिनिधिमण्डलका नेता शेख खलिफा बिन अलि बिन इसा अलहार्थीले सहमति गरिएका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तथा सझदारी गर्न बाँकी विषयलाई टुङ्ग्याउन ओमान सकारात्मक रहेको जानकारी दिए। उनले नेपालीहरूको परिश्रम र इमान्दारीको प्रशंसा गरे।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकमा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले बहुपक्षीय क्षेत्रमा सहकार्य एवं साझेदारीलाई अझ घनिभूत तुल्याउन दृढता पनि व्यक्त गरेका छन् ।

परराष्ट्र सचिव लम्सालले बुधबार नै ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो ।

सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा आयोजना गरिनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.