भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

युरोपेली संघद्वारा रुसको २५० अर्ब डलर बराबरको सम्पत्ति अनिश्चितकालका लागि फ्रिज

युरोपेली संघद्वारा रुसको २५० अर्ब डलर बराबरको सम्पत्ति अनिश्चितकालका लागि फ्रिज

काठमाडौं, २७ मंसिर । युरोपेली संघ (ईयू)ले युक्रेन युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति गर्ने सर्तसहित रुसको करिब २५० अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिलाई अनिश्चितकालका लागि ‘फ्रिज’ गर्ने निर्णय गरेको छ । अब युरोपमा रहेका ती रुसी सम्पत्तिहरू आवश्यक नपरेसम्म जफत अवस्थामै रहनेछन् ।

यसअघि प्रत्येक ६ महिनामा प्रतिबन्ध नवीकरणका लागि मतदान गर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यो बाध्यता हटाइएको छ। हाल ईयूको अध्यक्षता सम्हालिरहेको डेनमार्कले उक्त निर्णय सार्वजनिक गरेको हो । २७ सदस्य राष्ट्र रहेको ईयूमा रुसका निकट मानिने हंगेरी र स्लोभाकियाले विरोध जनाए पनि बहुमत २५ राष्ट्रको समर्थनमा निर्णय पारित भएको हो । हंगेरीले यस कदमलाई गलत कानुनी आधारमा लिइएको अभूतपूर्व निर्णय भन्दै आलोचना गरेको छ ।

यो निर्णय ईयू सन्धिको धारा १२२ अन्तर्गत लिइएको हो, जसले आपत्कालीन अवस्थामा विशेष कदम चाल्न अनुमति दिन्छ । यसअघि रुसी केन्द्रीय बैंकले उक्त कदमविरुद्ध मस्कोस्थित मध्यस्थता अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको थियो । युरोपेली आयोग सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि जफत गरिएका करिब २०० अर्ब युरो बराबरको रुसी सम्पत्ति युक्रेनलाई सहयोग गर्न प्रयोग गर्ने पक्षमा छ । ईयूको योजनाअनुसार बेल्जियमस्थित वित्तीय संस्था ‘युरोक्लियर’ले उक्त रकम ईयूलाई ऋणका रूपमा उपलब्ध गराउनेछ, जसबाट युक्रेनलाई सहायता प्रदान गरिनेछ ।

रुसले युद्धमा भएको क्षतिको क्षतिपूर्ति तिरेपछि मात्र युक्रेनले उक्त रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ । हाल युरोक्लियरले जफत सम्पत्तिको संरक्षण, मर्मत तथा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ । यसैबीच, बेल्जियमले रुसी सम्पत्ति बन्धक राख्दा वा बिक्री गर्दा उत्पन्न हुन सक्ने कानुनी तथा आर्थिक जोखिमबारे चिन्ता व्यक्त गर्दै सहयोगी राष्ट्रहरूसँग सुरक्षाको ग्यारेन्टी माग गरेको छ। रुसले भने आफ्नो सम्पत्ति गैरकानुनी रूपमा हडप्ने षड्यन्त्र भएको आरोप लगाउँदै, निर्णय फिर्ता नभए बेल्जियमविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.