काठमाडौँ, १० कात्तिक । भारतको असम राज्यस्थित गुवाहाटीमा होटेलको लिज सम्झौतासम्बन्धी विवादमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । घटना सोमबार राति करिब साढे ९ बजे गुवाहाटीको व्यस्त जीएस रोडस्थित एक होटेलमा भएको हो ।
प्रहरीका अनुसार होटेलको लिज सम्झौतालाई लिएर भएको विवादपछि गोली प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त घनकान्त गोगोईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अपराधमा प्रयोग गरिएको पेस्तोलसहित नियन्त्रणमा लिइएको गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले जानकारी दिएका छन् ।
प्रहरी आयुक्त महन्तका अनुसार घटनामा छ जनामाथि गोली प्रहार भएको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते अवस्थामा उपचाररत छन् । मृत्यु हुने पाँच जनामध्ये चार जना होटेलको स्वामित्व भएको परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ । अभियुक्त गोगोईले करिब एक वर्षअघि उक्त होटेल लिजमा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गुवाहाटी मेडिकल कलेज तथा अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएपछि ४८ वर्षीय नारायण दासलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनको अनुहारमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ । त्यस्तै, ४२ वर्षीय सत्येन्द्र पाठकको दाहिने काँधमा गोली लागेको छ । चिकित्सकका अनुसार उनको अवस्था हाल स्थिर रहेको छ ।
घटनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । गोलीकाण्डमा संलग्न अन्य व्यक्ति वा घटनासँग सम्बन्धित थप विवरणबारे अनुसन्धान जारी रहेको छ ।
