रौतहट, १६ पुष । चन्द्रनिगाहपुर–निजगढ सडकखण्डअन्तर्गत दोस्रो लच्का नजिक ग्यास बोकेको बुलेट ट्याङ्कर दुर्घटना हुँदा अवरुद्ध बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग २५ घण्टापछि सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब पौने ८ बजे पल्टिएको ग्यास बुलेट ट्याङ्कर बुधबार बिहान पौने ९ बजे सडकबाट पूर्ण रूपमा हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो। ट्याङ्कर पल्टिएसँगै ग्यास चुहावटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार सुरक्षा निकाय, ट्राफिक प्रहरी तथा स्थानीय तहको संयुक्त प्रयासबाट सुरुवाती चरणमा ट्याङ्कर हटाउन कठिनाइ भए पनि अन्ततः छवटा किरण क्रेनको प्रयोग गरी ग्यास बुलेट सुरक्षित रूपमा हटाइएको हो।
२१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर सडकबाट पूर्ण रूपमा हटाइएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी–१७ एपी–२११४ नम्बरको ग्यास बुलेट ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा चालक भारतको मधुवनी जिल्ला जयनगर निवासी ३७ वर्षीय पवन यादव घाइते भएका थिए।
घाइते चालकको अवस्था सामान्य रहेको र सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल राजमार्गमा सवारी आवागमन सामान्य बनेको छ।
