भर्खरै : Sorry, your browser does not support inline SVG.

अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित

अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित

धनगढी, १८ असार । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्। लगातारको वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती, सडक र होचा क्षेत्रसमेत पानीमा डुबेका छन्।

धनगढीका मुख्य सडक, गल्ली तथा नालामा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। डुबानका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ भने पैदल आवतजावत गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन्।

निरन्तर वर्षासँगै नदी तथा खोलानालामा पानीको सतह बढ्न थालेपछि बाढीको जोखिमसमेत बढेको छ। जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी किनार र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

डुबानका कारण विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा सार्वजनिक बिदा दिएका छन्।

मौसम पूर्वानुमान विभागले अझै केही समय वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ। सम्भावित बाढी, डुबान र अन्य विपद्बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.