अमेरिकासँग वार्तामा खुला मदुरो, कथित सीआइए ड्रोन हमलाबारे तत्काल टिप्पणी नगर्ने

अमेरिकासँग वार्तामा खुला मदुरो, कथित सीआइए ड्रोन हमलाबारे तत्काल टिप्पणी नगर्ने

काठमाडौं, १८ पुस । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफू खुला रहेको बताएका छन् । तर हालै भेनेजुएलाको एक डक क्षेत्रमा भएको कथित सीआइए नेतृत्वको ड्रोन हमलाबारे भने उनले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

राज्य टेलिभिजनमा प्रसारित नयाँ वर्षको पूर्वसन्ध्यामा रेकर्ड गरिएको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले अमेरिका–भेनेजुएला सम्बन्ध, सुरक्षा अवस्था र सम्भावित सहकार्यका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । स्पेनी पत्रकार इग्नासियो रामोनेटसँगको अन्तर्वार्तामा उनले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गराउने उद्देश्यले लामो समयदेखि दबाब अभियान चलाइरहेको आरोप लगाए । मदुरोका अनुसार अगस्टदेखि क्यारिबियन सागर क्षेत्रमा गरिएको ठूलो सैन्य तैनाथीको अन्तिम लक्ष्य भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच प्राप्त गर्नु हो । “धम्की, दबाब र बल प्रयोग गरेर आफूलाई थोपर्ने प्रयास भइरहेको छ,” उनले भने ।

उनले भावनामा होइन, तथ्य र प्रमाणका आधारमा दुवै देशबीच गम्भीर वार्ता आवश्यक रहेको उल्लेख गर्दै यदि अमेरिका साँच्चिकै लागुऔषध तस्करी रोक्न इच्छुक छ भने भेनेजुएला सहकार्यका लागि तयार रहेको बताए । “अमेरिकी सरकारलाई यो कुरा राम्रोसँग थाहा छ,” उनले भने, “यदि उनीहरू इमानदारीपूर्वक सम्झौता गर्न चाहन्छन् भने हामी तयार छौँ ।” राष्ट्रपति मदुरोले अमेरिकालाई तेल आवश्यक परेमा भेनेजुएला अमेरिकी लगानीका लागि पनि खुला रहेको स्पष्ट पारे । शेभरनजस्ता अमेरिकी कम्पनीहरूलाई आवश्यक परे जहाँ र जसरी चाहन्छन्, लगानीको अवसर दिन सकिने उनको भनाइ थियो । हाल शेभरन कर्पोरेसन भेनेजुएलाबाट कच्चा तेल अमेरिका निर्यात गर्ने एकमात्र प्रमुख कम्पनी हो ।

भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको छ । अन्तर्वार्ता टेप गरिएको दिन नै अमेरिकी सेनाले पाँचवटा कथित लागुऔषध तस्कर डुङ्गामाथि आक्रमण गरेको घोषणा गरेको थियो । ट्रम्प प्रशासनका अनुसार यस्ता आक्रमणको संख्या ३५ पुगेको छ र कम्तीमा ११५ जनाको मृत्यु भएको दाबी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमणलाई अमेरिकामा लागुऔषधको प्रवाह रोक्न आवश्यक कदमको रूपमा औचित्य पुष्टि गर्दै अमेरिका लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ मा रहेको दाबी गरेका छन् । प्रारम्भमा क्यारिबियन क्षेत्रमा केन्द्रित यी कारबाहीहरू पछि पूर्वी प्रशान्त महासागरसम्म विस्तार भएका छन् ।

यसैबीच, गत साता भेनेजुएलाका लागुऔषध गिरोहहरूले प्रयोग गर्ने विश्वास गरिएको एक डकिङ क्षेत्रमा भएको ड्रोन हमलामा सीआइएको संलग्नता रहेको दाबी गरिएको छ । अपरेसनबारे जानकारी भएका व्यक्तिहरूले विषय संवेदनशील र गोप्य भएकाले नाम नछाप्ने सर्तमा यस्तो बताएका हुन् ।

भेनेजुएलाको भूमिमा गरिएको उक्त अपरेसनबारे सोधिएको प्रश्नमा राष्ट्रपति मदुरोले “केही दिनमा यसबारे बोल्ने” मात्र प्रतिक्रिया दिएका छन् । उनको मौनताले आगामी दिनमा भेनेजुएला–अमेरिका सम्बन्ध कुन दिशातर्फ जाने हो भन्ने चासो बढाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.