DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

६ महिना आन्दोलन गर्नुपरे पनि गर्छौँ, तर उखुको पैसा नलिई फर्कन्नौँ


  • मंसिर ३०, २०७७
  • 725 Views
६ महिना आन्दोलन गर्नुपरे पनि गर्छौँ, तर उखुको पैसा नलिई फर्कन्नौँ image

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकाका गगनदेव राय ७० वर्षका भए । शरीर जीर्ण भइसक्यो, तर खेतीकिसानी नगरी परिवार पाल्ने अर्को उपाय छैन । आफ्नो दुई बिघा जमिनमध्ये एक बिघा नदी किनारमा झाडी भएर बसेको छ । एक बिघामा उनले ऋण लिएर उखुखेती गरेका छन् । उखु रोप्ने, गोडमेल गर्ने, कटानी, ढुवानीलगायतमा प्रशस्त खर्च हुन्छ । बैंकबाट उनले लिएको ऋण १० लाख रुपैयाँ पुगिसक्यो । तर, मिलसम्म आफैँले लगेर ७० सालदेखि बेचेको उखुको पैसा उनले पाएका छैनन् । अन्नपूर्ण सुगर मिलबाट अझै पनि चार लाख रुपैयाँ लिन बाँकी छ । उखु बिक्रीको पैसा नपाउँदा एकातिर खान–लगाउन नै समस्या भइसक्यो, अर्कातिर बैंकको ऋणको चिन्ता छ ।

तर, चिनी मिलका मालिक गाउँमा नभेटिएपछि आन्दोलन गरेर भए पनि पैसा उठाउने भनेर उनी काठमाडौं आएका छन् । ‘चिनी मिलले त ठग्यो नै, पैसा उठाउन गाउँका नेता र मेयरले पनि हामीलाई साथ दिएनन्,’ रात बिताउन काठमाडौंको पशुपति धर्मशाला पुगेका उनले सोमबार साँझ बताए । गाउँमा छोराछोरी छोडेर आन्दोलनका लागि काठमाडौं आएका उनको मन भने परिवारको चिन्तामा सर्लाही नै पुगेको छ । आन्दोलनका लागि काठमाडौं आउँदासमेत उनले १० हजार रुपैयाँ ऋण लिएका छन् । आठ सय रुपैयाँ बसभाडा नै लाग्यो, धर्मशालामा बसेको र दुई छाक खाना खाँदा दैनिक पाँच सय रुपैयाँ खर्च भइरहेको छ ।

तर, काठमाडौंमा आन्दोलन गरेपछि पक्कै पाउनुपर्ने रकम पाइएला भन्ने विश्वास उनको छ । ‘हामी सबैले प्रण गरेका छौँ कि अब हााम्रो खातामा जबसम्म पैसा आउँदैन, तबसम्म यहाँबाट जाँदैनौँ । १० दिन, एक महिना वा ६ महिनासम्म लागे पनि हामी बस्छौँ । सरकारले गोली हान्दियो भने त्यो पनि मन्जुर छ । तर, पैसा नलिई घर जाँदैनौँ,’ उनले भने, ‘हामीले भिख मागेको होइन, उखु बेचेको पैसा मागेको हो ।’ चिनी मिलले पैसा नदिएपछि आफ्नो परिवार ठूलो समस्यामा परेको उनले बताए । ‘भर्खरै मात्रै १६ हजार रुपैयाँ ऋण लिएर श्रीमतीको आँखाको अप्रेसन गराएँ,’ उनले भने, ‘मेरो पनि आँखामा समस्या आएको छ, राम्ररी देख्न सकिरहेको छैन । पैसा नभएर उपचार गर्न पाएको छैन ।’ हरेक साल बर्खामा घरमा पानी पस्छ । कम्मरसम्म पानीले डुब्छ । त्यो घर उनले मर्मत गर्न सकेका छैनन् ।

सर्लाहीकै रामबाबु मण्डलका घरमा ६ छोरी र तीन छोरा छन् । ती सबैलाई कमाएर खुवाउने उनले नै हो । तर, छोराछोरी र परिवारलाई सर्लाहीमै छोडेर उनी काठमाडौं आएका छन् । ‘म गाउँमा नहुँदा छोराछोरी र परिवारले के खालान् भन्ने चिन्ता छ, तर चिनी मिलका साहुले ०७१ सालदेखिको पैसा नदिएपछि त्यो उठाउन सकिन्छ कि भनेर काठमाडौं आएको छु,’ उनले भने । काठमाडौं आउन आफूसँग पैसा नभएकाले ८ हजार रुपैयाँ सापटी लिएर आएको उनले बताए । ‘काठमाडौंमा उखु बेचेको पैसा पाएपछि फिर्ता गराइदिन्छु भनेर सापटी लिएर आएको हँु,’ उनले भने ।

उनको आफ्नो स्वामित्वमा जम्मा दुई कट्ठा जमिन छ । त्यहाँ घर छ, थोरै धान पनि त्यहीँ फलाउँछन् । एक बिघा खेती भाडामा लिएर उखुखेती गरेका छन् । तर, अन्नपूर्ण सुगर मिललाई उखु बेचेको पैसा ०७१ सालदेखिको उनले पाएका छैनन् । ‘मैले साढे चार लाख रुपैयाँको उखु दिएको छु, अहिलेसम्म ४५ हजार रुपैयाँ मात्र पाएको छु,’ उनले भने । मिलले पैसा नदिएकाले उमेर पुगेकी छोरीको विवाहसमेत गर्न नसकेको उनले बताए । ‘दुई लाख रुपैयाँ ऋण छ, महिला समूहबाट लिएको हो । महिनाको पाँच हजार रुपैयाँ ब्याज दिनुपर्छ । त्यो पैसा महिनाको ३० गते दिनुपर्छ । तर, ८ गतेसम्म दिन सकेन भने तीन हजार जरिवानासहित आठ हजार ब्याज बुझाउनुपर्छ,’ उनले भने, चिनी मिलले पैसा दिँदैन, समूहलाई कसरी तिर्नु रु’

धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलले गोडैताका बिकाउ यादवको समेत तीन वर्षअघिदेखि उखु बेचेको पैसा दिएको छैन । त्यो मिलबाट डेढ लाख रुपैयाँ लिन बाँकी छ । ‘मेरो आफ्नो ५ कट्ठा जग्गा छ । प्रतिकट्ठा १० हजार रुपैयाँका दरले ठेक्का बुझाउने गरी साहुबाट दुई बिघा जग्गा लिएर उखुखेती गरेको छु,’ उनले भने, ‘आफैँले उखु काटेर ट्रकमा हालेर मिलमा लगिदिनुपर्छ, मजदुर र ढुवानी खर्च तत्काल बुझाउनुपर्छ, तर मिलले पैसा नै नदिएपछि कर्जा तिर्नै गाह्रो भयो ।’ मिलले पैसा नदिएपछि एक लाख रुपैयाँका दरले दुई कट्ठा जग्गा बिक्री गरी उखु लगाउँदाको ऋण तिरेको उनले बताए ।

उनले अन्नपूर्ण सुगर मिलबाट डेढ लाख रुपैयाँ लिन बाँकी छ । गोडैताको महालक्ष्मी सुगर मिललाई दुई सय क्विन्टल उखु बेचेकोमा त्यहाँबाट पनि पूरा पैसा नपाएको उनले बताए । ‘त्यो मिलले एक क्विन्टल उखु लग्यो भने ८० किलोको मात्र हिसाब दिन्छ । २० प्रतिशत तौलचाहिँ रस कम भएको, पात बढी आएको भन्दै काटेर दिँदैन । महालक्ष्मीले प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ दिनुपर्नेमा ३६ रुपैयाँ कम गरेर चार सय ३५ रुपैयाँ प्रतिक्विन्टलका दरले हिसाब दिएको छ । मैले ३६ रुपैयाँ प्रतिक्विन्टल कम रकम पाएकाले त्यो पनि पाउनुपर्छ भनेर यहाँ आएको हुँ,’ उनले भने ।

मेयर तथा नेताहरूले मिलसँग मिलेर किसानले पाउनुपर्ने र दिलाउने कार्यमा पहल नगरेको उनले गुनासो गरे । ‘सरकारले भनेको मूल्यअनुसार मलाई पैसा चाहिन्छ । नेताले बेइमानी, घुसखोरी गरेर हामीलाई अप्ठ्यारो पारेका छन्,’ उनले भने । अन्नपूर्ण मिलले दसैँ, तिहार, छठपछि पैसा दिन्छु भनेर पनि नदिएको उनले बताए । ‘कहिले १०–१५ हजार रुपैयाँ गरेर दिन्छ । एकचोटि १० हजार दिएको थियो । सयकडा तीनका दरले १० हजार ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएको उनले बताए । ‘म काठमाडौं आएपछि घरमा छोराछोरी, नातिनातिनीहरूले के ल्याइदिन्छ भनेर आस गरेर बसेका छन् । त्यसैले, अब जबसम्म पैसा आउँदैन, तबसम्म गाउँ नजाने अठोट लिएको छु । पैसा नपाएसम्म आन्दोलन चलिरहन्छ,’ उनले भने ।

अर्का किसान गौरीशंकर पण्डितले मैले अन्नपूर्ण सुगर मिलबाट तीन वर्षदेखिको दुई लाख रुपैयाँ पाउन बाँकी छ । यो पैसा मिलबाट आएपछि तिर्ने भनेर गाउँबाट करिब दुई लाख रुपैयाँ सयकडा तीन रुपैयाँका दरले ऋण लिएका थिए । ‘अहिले ऋण र ब्याज बढेको छ, तर उखु मिलबाट पैसा पाउन सकेको छैन,’ उनले भने । उनले करिब दुई बिघा जमिन भाडामा लिएर उखु रोपेका छन् । तर, वर्षौँदेखि पैसा नपाउँदा एकातिर ऋण तिर्न सकेका छैनन्, अर्कातिर छोरीको विवाहसमेत गर्न सकेका छैनन् । काठमाडौं आउँदा पनि ६ हजार सापटी गरेर आएका हुन् उनी । ‘संघर्ष समितिका सचिव हरिश्याम रायसँग भेट भयो, उनले काठमाडौं गएर आन्दोलन गरेपछि पैसा पाइन्छ भनेकाले आएको हुँ,’ उनले भने ।

सर्लाहीकै अर्का किसान रेवतीरमणकोे पनि अन्नपूर्ण सुगर मिलबाट उखुको चार वर्षदेखिको बक्यौता पाँच लाख रुपैयाँ उठाउन बाँकी छ । ‘उखुखेती लगाउन कृषि विकास बैंकबाट १० लाख ऋण लिएको छु । चिनी मिलबाट समयमा पैसा नआउँदा उखुखेती गरेको ऋण तिर्न बैंकबाट ऋण लिएको हुँ,’ उनले भने ।

पैसा पाएपछि मात्र सरकारसँग वार्ता गर्छौँ स् रामस्वार्थ राय, अध्यक्ष, संघर्ष समिति, सर्लाही

हामी यसअघि बारम्बार सरकारसँग वार्तामा गएका थियौँ, तर पैसा पनि पाएनौँ, पैसा नदिने मिल सञ्चालकलाई कारबाही पनि भएन । त्यसैले, यसपटक वार्तामा नजाने मनस्थितिमा छौँ । हामीले पाउनुपर्ने पैसा खातामा हालेको हेरेपछि मात्रै थप कुरा गर्छौँ । पैसा पाएपछि मात्रै वार्ताको कुरा आउँछ । हाम्रा समस्या समाधान नभएपछि काठमाडौं आएर आन्दोलन गर्नुपरेको हो । केही सीप नलागेर काठमाडौं आएको हो । सरकारसँग केको वार्ता गर्ने रु के विषयमा वार्ता गर्ने रु वार्ताको कुन सीमा छ । हामीले मन्त्रालयदेखि राष्ट्रपतिसम्मलाई भेटेर कुरा राखिसक्यौँ ।

तर, कहीँबाट पनि समस्या समाधान भएन । यी सबैतिर धाएपछि जाने निकाय कहाँ हो त रु सडकबाहेक अरू जाने ठाउँ त देखिएन । यो देशको नागरिकले हाम्रो पीडा बुझोस् । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा यो विषय बाहिर आओस् भनेर सडक आन्दोलन गर्न बाध्य छौँ । अहिलेको आन्दोलन छाडेर हामी जाँदैनौँ । हामीले पैसा नलिई घर नफर्कने प्रण लिएर आएका छौँ । अहिले हामी उखु किसान मात्रै पीडित होइनौँ । देशका सबै किसानको पीडा हो यो । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.