भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

त्रिशूली । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।

आज कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले यहाँ निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो । महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदीबन्दी स्थानान्तरण गरिने बताए ।

“कारागार निर्माणको पहिलो चरणमा जग्गाको चारकिल्ला निर्धारण गरेर दोस्रो चरणमा एक हजार तीन सय ७० जना कैदीबन्दी अट्ने क्षमताको पाँच वटा ब्लक निर्माण गरिएको छ”, महानिर्देशक जयनारायण आचार्यले भने, “तयार भएका भवनमा कैदीबन्दी राख्न कारागार, शौचालय, स्नानकक्ष, खेल मैदानसहित आधुनिक एवं सुविधा सम्पन्न संरचना निर्माण गरिएका छन् ।”

कूल सात हजार कैदीबन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माणसहित शिक्षालय, पुस्तकालय, अस्पताल, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको रूपमा नुवाकोटमा केन्द्रय कारागार भइरहेको छ । अब निर्माणको काम तेस्रो चरणमा प्रवेश गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

निर्माणको काम लक्ष्यभन्दा निकै ढिलो

यसअघि तेस्रो चरणको कामका लागि ठेक्का निकालेर सम्झौता प्रक्रियामा पुगे पनि स्थगित गरिएको थियो तर सरकारको निर्णयअनुसार नुवाकोटमा करिब सात हजार कैदीबन्दी अट्ने संरचना निर्माण गर्ने लक्ष्यअनुसार नै काम अघि बढाइने महानिर्देशक आचार्यले विश्वास दिलाए ।

केन्द्रीय कारागार निर्माणको ‘गुरू योजना’ मा समावेश भएकामध्ये निर्माण गर्न बाँकी भौतिक संरचना तेस्रो चरणको कार्यक्रममा समावेश हुने अनुगमन पश्चात नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार पाँच चरणमा १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर सरकारले निर्णय गरेको १० वर्ष पूरा हुँदा बल्ल भौतिक संरचना निर्माणअन्तर्गत करिब १९ प्रतिशत काम भएको छ । यहाँ अझै पाँच हजारभन्दा बढी कैदीबन्दी राख्ने संरचनासहित अस्पताल, शिक्षालयसहितको संरचना निर्माण गर्न बाँकी छ ।

विसंं २०७० चैत २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काठमाडौँमा रहेको केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सङ्घीय संरचनानुसार नुवाकोटमा निर्माण भइरहेको कारागारलाई केन्द्रीय कारागार, सातवटै प्रदेशमा प्रादेशिक कारागार र सबै जिल्लामा एक÷एक जिल्ला आधुनिक कारागार बनाउने सरकारको लक्ष्य छ । रासस

 


Thali Mobile Pvt.Ltd.