भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरो पक्राउ परेको ट्रम्पको दाबी

अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरो पक्राउ परेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोट तथा सैन्य आक्रमणपछि ट्रम्पले यस्तो दाबी सार्वजनिक गरेका हुन् ।

काराकासमा भएको विस्फोटपछि ट्रम्पले उक्त आक्रमण अमेरिकाले नै गरेको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत लेख्दै अमेरिका भेनेजुएला र त्यहाँका नेतृत्वविरुद्ध ठूलो स्तरको सैन्य कारबाहीमा सफल भएको बताएका छन् । ट्रम्पका अनुसार राष्ट्रपति मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरी देशबाहिर लगिएको छ । उनले पोस्टमा लेखेका छन्, “अमेरिकाले भेनेजुएला र उसका नेता निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलो कारबाही गरेको छ । मादुरोलाई उनकी पत्नीका साथ नियन्त्रणमा लिएर देशभन्दा बाहिर लगिएकाे छ ।”

यसअघि राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशभर राष्ट्रिय संकटकाल घोषणा गरेका थिए । उनले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गरेका थिए ।

 

भेनेजुएलाकी उपराष्ट्रपति भन्छिन्– राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण चाहियो

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको अवस्था हालसम्म अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई उनकी पत्नीका साथ पक्राउ गरी देशबाहिर लगाइएको दाबी गरेपछि उपराष्ट्रपतिको प्रतिक्रिया सार्वजनिक भएको हो । 

रोड्रिग्जले सरकारसँग राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसबारे कुनै आधिकारिक जानकारी नरहेको बताएकी छन्। “हामीलाई राष्ट्रपति र उनकी पत्नीको अवस्थाबारे कुनै सूचना प्राप्त भएको छैन,” उनले भनिन् । बीबीसीका अनुसार उपराष्ट्रपति रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण सार्वजनिक गर्न माग गरेकी छन्। उनको भनाइअनुसार हालसम्म राष्ट्रपति मादुरोको अवस्था पुष्टि हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.