छोरी–बुहारीलाई निःशुल्क पढाउँदै सूर्योदय नगर

छोरी–बुहारीलाई निःशुल्क पढाउँदै सूर्योदय नगर

इलाम । सूर्योदय नगरपालिकाले कर्फोक क्याम्पसमा शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई निःशुल्क पढाउन थालेको छ । नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म एक सय ५३ छोरी–बुहारीले स्नातक अध्ययन गरिसकेका छन् ।

तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको सङ्ख्या दुई सय पुग्दै छ ।नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए ।

नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारीसमेत दिने तयारी गरेको छ । छोटो समयका लागि भए पनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागिएको नगर प्रमुख राईले बताए । उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सय दिनको रोजगारी सहयोगी बन्ने उनको भनाइ छ ।

करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबीए, बिबीएच, बिएड र बिए अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्लाबाहिर रहेकाले आधाभन्दा बढीले मात्र सय दिनको रोजगारी लिने शिक्षा शाखा प्रमुख भट्टराईले बताए ।

 


Thali Mobile Pvt.Ltd.