काराकास । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार अस्वाभाविक रूपमा सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि शहरभर विस्फोटको गन्ध फैलिएको थियो भने त्रसित नागरिकहरू घरबाहिर निस्कन हिच्किचाएको देखिन्थे ।
आक्रमणपछि राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर सार्वजनिक भएपछि उनका केही सय समर्थकहरू राजधानीमा भेला भएर रिहाइको माग गर्दै नाराबाजी गरेका थिए । तर, त्यसबाहेक ६० लाख जनसंख्या भएको शहरका अधिकांश सडकहरू प्रायः खाली देखिएका थिए । काराकासकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटका आवाजले निद्राबाट ब्युँझिएको अनुभव सुनाउँदै आफू अत्यन्त डराएको बताइन् । स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको थियो । सुरुमा आतसबाजी ठानिएका ती आवाजले झ्यालहरू हल्लिएका थिए भने सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए ।
काराकासको प्रमुख सैनिक केन्द्र नजिकै पर्ने कोचे क्षेत्रका बासिन्दाले विमानको गर्जन अत्यन्त डर लाग्दो रहेको बताएका छन् । शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठिरहेको देखिएको थियो र वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको थियो । आक्रमणपछि सर्वसाधारणको आवतजावत निकै कम देखिएको छ ।
राजधानीका केन्द्रीय क्षेत्रमा कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित गस्ती गरिरहेका थिए । अधिकांश पसलहरू बन्द थिए भने केही खुलेका पसलमा पनि सीमित संख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो । विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । यद्यपि रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाएका छन् ।
