काठमाडौँ, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा नेपाल पत्रकार महासंघ ले आज काठमाडौँको माइतीघर मण्डला मा ऐक्यबद्धता र्याली तथा विरोध प्रदर्शन गरेको छ। सञ्चार क्षेत्रमाथि बढ्दै गएको दमन र हस्तक्षेपको विरोधस्वरूप महासंघले आन्दोलनका कार्यक्रमअन्तर्गत प्रदर्शन आयोजना गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष निर्मला शर्मा ले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना उल्लेखनीय रूपमा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। महासंघको अनुगमन प्रतिवेदनअनुसार गत वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकामा यस वर्ष बढेर १३१ पुगेका छन्।
उहाँका अनुसार सरकारी विज्ञापन र सूचना केवल सरकारी सञ्चार माध्यममा मात्र उपलब्ध गराउने निर्णयले निजी सञ्चार माध्यममाथि ‘आर्थिक नाकाबन्दी’ जस्तै अवस्था सिर्जना गरेको छ। त्यसैगरी समाचार प्रकाशनकै आधारमा पत्रकारमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत फौजदारी मुद्दा लगाउने तथा स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा महासंघले आपत्ति जनाएको छ।
प्रदर्शनमा राष्ट्रिय मानवअधिकार आयोग का सदस्य मनोज दवाडी, नेपाल बार एसोसिएसन का अध्यक्ष विजय मिश्र, नागरिक समाजका अगुवा तथा विभिन्न प्रेस संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो।
