काठमाडौं । बन्दुकले नहल्लीएको माओवादी अहिले गायक प्रकाश सपुतको गीतले हल्लीएको छ । गायक प्रकाश सपुतको गीत ‘पीर’ चर्चामा मात्रै गएन, संसार भरी गीत सुन्ने र हेर्ने दर्शकले विभिन्न आलोचना गरे । माओवादीहरुले त प्रकाशलाई तह लगाउने सम्मका धम्की दिए ।
दश वर्ष पहिलेको समाज र युद्ध पश्चातको समाजमा कुनै तात्वीक भिन्नता देखिदैन जस्तो माओवादी धम्कीले सावित गरिदिएको छ । गीतमा उनले समाजको यथार्थतालाई झल्काएको देखिन्छ । द्धन्द्धपछि माओवादी लडाकुको अवस्था दयनीय भएको छ भने नेतृत्वको जीवन यश आराममा वितेको भनेर जनस्तरबाट गुनासा आइरहेका बेला प्रकाशले यथार्थलाई टपक्कै टिपेर गीत बनाए ।
तर माओवादीलाई त्यो गीत शैय भएन । गीत नपचेपछि माओवादीले धम्की दियो । तर नेतृत्वले गीतमा विरोध जनाइहाल्ने अवस्था नआएको जवाफ दियो । माओवादीको १० वर्षे सशस्त्र द्धन्द्धपछिको परिस्थिति केलाएर सशस्त्रका लडाकुहरुको अवस्था गीतमार्फत व्यक्त गरेका प्रकाश पनि डराएर गीतमा भएको सीन र दृश्य सम्पादन गर्न पुगे ।
लडाकुले शान्ति प्रक्रियामा आइसकेपछि भोगेका पीडालाई समेट्ने प्रयास गीतले गरेको थियो । युट्युबमार्फत सार्वजनिक गरेको भिडियो एक सातामै करोड भिउज गएको थियो तर धम्की पछि उनी हटाउन पुगे र सम्पादित अर्को भिडियो अपलोड गरे ।
पहिलो भिडियो हेरेका दर्शकका लागि दोस्रो भिडियो खल्लो लाग्ने त भयो नै त्यस गीतले भन्न खोजेको मर्म पनि मर्यो । भिडियोमा कतिपय लडाकु देशमा सोचेजस्तो परिवर्तन नआएकाले खाडी मुलुकमा भासिएको दृष्य पनि देखाइएको थियो । अनि अवसरवादी लडाकु मन्त्री भएपछि चिल्लोगाडीमा हिँडेर सहयोद्धालाई बेवास्ता गरेको मार्मिक दृष्य पनि थियो ।
सपुतमाथि चर्को दबाब आएपछि उनले आफ्नो सिर्जना समेत मार्न पुगे । स्पष्टीकरण दिदै युटुवबाट भिडियो नै हटाए पछि समाजमा अभिव्यक्ति स्वतन्त्रता माथि प्रश्न उठेको छ । कसैको दबाबमा नआइ सम्पादन गरेको सपुतले स्पष्ट पारे पनि सपुतका प्रशंसकले पत्याउने कुरै छैन । प्रकाश सपुतको मात्रै होइन, तत्कालीन केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको पालामा पनि पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा ’ भन्ने गीतमाथि प्रतिबन्धको कलंक लगाएको थियो ।
ओली सरकारको बेथिति छरपष्ट भएपछि उनलाई पनि युट्युबबाट भिडियो हटाउन चेतावनी दिइएको थियो । बाध्य भएर शर्माले त्यो भिडियो हटाए । यसले कम्युनिष्टहरुनै पंचायत भन्दा निरंकुश भए भन्ने सन्देश दिएको छ । गणतन्त्रमा पनि यस्तो पाबन्दी किन ? किन अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिदै छ ? यो आम प्रश्न यतिवेला समाजमा उठिरहेको छ ।
गणतन्त्रमा कानूनमा बर्जित बाहेक सबै स्वतन्त्रता हुनु पर्ने होइन र ? प्रशंसा र आलोचना गर्न नपाइने हो र ? गीत प्रतिवन्ध, दृष्य हटाउन लगाउने र युटुबबाटै डिलिट गर्न लगाउँने हो भने अभिव्यक्ति स्वतन्त्रता कुन चराको नाम हो भन्ने अवस्था आउँदैन र ? आलोचना सहन नसक्नेले राजनीति गर्नु पनि गलत होइन र ? आफू नसुध्रिने अनि द्धन्द्धका गलत पक्षलाई कोट्याउँदा धम्की दिने माओवादी शैली कुन वर्गको पृष्ठपोशक हो ?
जनयुद्धका लडाकुको अवस्था अहिले टोल टोलमा पुग्ने हो भने प्रष्ट देख्न सकिन्छ । घाइते अपांगको अवस्थालाई सम्बोधन गर्नेतर्फ नलागेर विषयवस्तुमा केन्द्रीत गर्न खोज्नेमाथि नै जाइलाग्नु कहाँसम्मको तानशाही प्रवृत्ति हो ? वाक् स्वतन्त्रतालाई ख्यालठट्टाको विषय बनाइनु राजनैतिक विडम्बना होइन र ? यसको जवाफ धम्कीले होइन महासय । समाधान गर्न केन्द्रीत हुन जरुरी छ ।
यस्ताे छ सम्पादित भिडियाे…
