भर्खरै : Sorry, your browser does not support inline SVG.

कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’

कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’

काठमाडौं । नेपालले कोभिड–१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न सकिने खोपमा सहज पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकामा जोड दिएको छ । एशिया सहयोग संवाद ९एशिया कोअपरेशन डाइलग, एसिडी० को ‘नव प्राकृतिक, सुरक्षित एवं स्वस्थ पर्यटन’ विषयमा टर्कीको राजधानी अङ्कारामा आज भएको १७ औँ मन्त्रिस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा एसिडीका सदस्य राष्ट्र र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच सघन सहयोग एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो ।

पर्यटन क्षेत्रसहित अर्थतन्त्र, जनजीविका र जीवनचक्रका सबै पक्षलाई कोभिड–१९ अघिको अवस्थामा फर्काउन सदस्य मुलुकबीच त्यस्तो साझेदारी एवं सहयोग अत्यावश्यक भएको उहाँको कथन थियो ।भोक र रोगबाट आफ्ना नागरिकको जीवन रक्षा गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै परराष्ट्रमन्त्रीले अर्थतन्त्रलाई गतिशील तुल्याउने तथा रोजगारीका अवसर गुम्न नदिन पर्यटनसँग सम्बन्धित गतिविधिमा स्वास्थ्यसुरक्षासम्बन्धी सबै नियम इमान्दारीपूर्वक कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

पूर्वाधार विकास तथा तिनको गुणस्तर सुधार एसिडी क्षेत्रका सबै किसिमका सम्पर्क सञ्जालका निम्ति महत्वपूर्ण छन् भन्दै उहाँले नेपाजस्तो भूपरिवेष्टित देशका लागि अविकासको खाडल पुर्न तथा न्यायोचित एवं समावेशी विकासका निम्ति त्यस्ता पूर्वाधारको खाँचो रहेको बताउनुभयो । एशियाली देशहरुको शान्ति, स्थायित्वका साथै साझा विकास र समृद्धिका लागि सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समझदारी, सहयोग र सहकार्य अझ घनिभूत हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभयो । एसिडीको वर्तमान अध्यक्ष राष्ट्र टर्कीले उक्त बैठक आयोजना गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.