काठमाडौं । गर्मी मौसम र प्रि मनसुनका कारण सङ्क्रमणजन्य रोग फैलिने जोखिम उच्च रहेको चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकाका चोक–चोक र गल्ली गल्लीमा फोहोरको डंगेरले पनि सङ्क्रमणजन्य रोगहरु फैलिने सम्भावना रहेको उनीहरुको तर्क छ । पछिल्ला दिनहरुमा पानी परेसंगै दुर्गन्ध फैलिएको र फोहोरका कारण झाडापखाला, हैजा, मलेरिया, डेंगु फैलिन सक्ने डाक्टरहरु बताउँछन् ।
हरेक वर्षको यो मोसममा विभिन्न संक्रमणजन्य रोगहरु देखिने समय भएकाले झाडापखाला, हैजा, मलेरिया, डेंगु जस्ता रोगहरु फैलिन नदिन सुरक्षाका उपाय अपनाउनु पर्ने बताइन्छ । कालाजार, टाइफाइड, ठेउला, दादुरा, रुघाखोकी, आउँ लगायतका रोगहरु यो समयमा विशेष गरी बढी देखिने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने डाक्टरको भनाई छ ।
त्यस्तै काठमाडौं उपत्यकामा फोहोरको व्यवस्थापन नहुँदा संक्रमणजन्य रोगहरु झन फैलिने जोखिम रहेको छ । फोहोर पानी र प्रदुषित वातावरणले सरुवा रोगहरु फैलिने उच्च जोखिम डाक्टरहरुले बताइरहेका छन् ।
कसरी बढ्न सक्छन् संक्रमणजन्य रोगहरु ?
पछिल्लो केही समयदेखि काठमाडौं महानगर लगायतका सहरहरुमा फोहोरमैलाको व्यवस्थापन राम्रोसंग नहँुदा चोक–चोक अनि गल्लीमा थुपारिएको छ ।
यसले सहरमा दुर्गन्ध फैलिएको छ भने फोहोर काग, मुसा, कुकुर लगायतका जनावरहरुले मानिसको घर वरपर र कौशीसम्म लैजाने गर्दछन् । फोहोरजन्य वस्तुहरुमा ब्याक्टेरिया धेरै सक्रिय हुने भएकाले संक्रमणजन्य रोगहरु फैलिन सक्छ ।
वातावरणको फोहोरमात्रै फोहोर नभइ घरासी फोहोरको पनि उचित व्यवस्थापन गर्न नसकेमा रोगहरु फैलिन सक्छ । प्रि मनसुनको समय भएकाले यस्तो फोहोरबाट पानी दुषित हुने र हावामा दुर्गन्ध फैलिने भएकाले पानीजन्य रोग र हावाबाट सर्ने रोगहरुका जोखिम उच्च रहेको हो । दूषित पानीबाट झाडापखाला, रुघाखोकी, हैजा हेपाटाइटिस ए र ई दूषित र हावाबाट रुघाखोकी, दादुरा, ठेउला फैलिन्छ सक्छ ।
कसरी बच्न सकिन्छ संक्रमणजन्य रोगहरुबाट ?
नेपालको सन्दर्भमा हरेक वर्ष एउटै खालका सङ्क्रमणजन्य रोग फैलिने विगतको घटनाक्रमले देखाएको छ । संक्रमणजन्य रोगहरुबाट बच्न सरकारले दुषित पानी, सरसफाईको कमी र बासीखानाबाट लाग्ने रोगबारे जनचेतना फैलाउनुपर्ने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।
सधै उमालेको पानी पिउने, बासी सडेगलेका र झिँगा भन्किएका खानेकुरा नखाने, वातावरण र आफ्नो टोल, छरछिमेक र घर आँगनको सरसफाईमा विशेष ध्यान दिएमा केही हदसम्म सङ्क्रमणजन्य रोगबाट जोगिन सकिने जनस्वास्थ्यविद्हरुको राय छ ।
