भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जङ्गल सफारीका लागि परिचित हात्ती विस्थापित हुँदै

जङ्गल सफारीका लागि परिचित हात्ती विस्थापित हुँदै

चितवन । जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउनुहुन्छ । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उहाँको भनाइ छ ।

दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रु एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनवटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि साइटिसले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उहाँको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।” कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गर्नुभयो । पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत सङ्कलन भएको व्यवसायी बताउँछन् ।

तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पु¥याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन । सौराहामा युनाइटेड हात्तीमा आबद्धबाहेक सपना भिलेजका आठ र ओम रिजालका आठ वटा हात्ती सञ्चालनमा रहेका छन् । विस्थापित भएका हात्ती बूढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकूदमा कुनै समस्या नहुने व्यवसायी बताउँछन् । पशु अधिकारकर्मीले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी बनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका विषयमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउनुहुन्छ । युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्न नै चाहँदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ । हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो ।

यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गरेको घिमिरेको भनाइ छ । गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कुनै निर्णय भइनसकेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.