भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

दुर्गमको नियतिः बाटोमै मृत बच्चा जन्माइन नर्मताले

दुर्गमको नियतिः बाटोमै मृत बच्चा जन्माइन नर्मताले

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन ।

बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किन।आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन्। उनले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याइन् ।

अनमी बुढामगर भनिन्, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन् सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माइन्, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।” विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन् । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उनले भनिन्, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।”

विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताइन्। अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताए । ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ ।

“धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उनले भने, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।” ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताए । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उनले भने । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.