जीवनका अनेक कष्ट सहदै
शहर, बजारका गल्ली धाँउदै
बर्षातको पानी र हिउँद्को जाडोमा कठ्याङ्ग्रीदै
सडक, पाटी र पौवामा रात बिताउँदै
बाँचिरहेको छु म बूढो किसान
साहु अनि महाजनको शुसारमा
नै बित्ने भयो मेरो जीवन
छैन मसंग एक छाक खान र जिउ ढाक्ने लुगा
मर्ने भएँ कठै औषधी छैन
रोगले च्याप्दै आइरहेको याे बेला
यस्तो यो पापी संसारमा
बाँचिरहेको छु म बूढो किसान
न त काम पाएँ न काम अनुसारकाे दाम
उल्टै हकार्दै साहुले काम गराउँछन् मलाइ
साहुकै खेतमा पसिना बगाउदै
बाँचिरहेको छु म बुढो किसान
गरीब अनि दुखिका दिन पनि आउलान भनि
सुखको स्वास फेर्ने आशमा बस्दै
कहिले पाउँला पेटभरी खान
कहिले होला साहुको ऋणबाट छुट्टी
हाे, यी र यस्तै कुराको आश, भरोषामा
बाँचिरहेको छु म बूढो किसान ।
मनोज सिजापती
आठबीस नगरपालिका ८ तिलेपाटा, दैलेख
