मर्मतपछि विद्युत आपूर्ति सबै ठाउँमा सुरु

मर्मतपछि विद्युत आपूर्ति सबै ठाउँमा सुरु

काठमाण्डौ । सुनसरीको दुहबीमा रहेको १ सय ३२ केभी सबस्टेशन सञ्चालनमा आएको छ । मङ्गलवार राति साढे ८ बजेदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर सञ्चालनमा आएको हो । सबस्टेशन सञ्चालनमा आएसँगै अहिले धेरै ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ । उपकरणमा ठूलो क्षति नभएकाले सुरक्षात्मक उपाय अपनाएर सबस्टेशन चार्ज गर्न सफल भएको जनइएको छ ।

रुख ढलेका कारण बन्द भएको कैलालीमा रहेको अत्तरिया चमेलिया १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि धेरैजसो सुदूरपश्चिमका पहाडी क्षेत्रमा बन्द भएको विद्युत् आपूर्ति सुरु भएको छ । देशभर बन्द भएका झण्डै दुई सय मेगावाट विद्युत् प्रसारणमा विच्छेद भएकामा धेरैजसो सञ्चालनमा आइसकेका प्राधिकरणले जनानकारी दिएको छ ।

दुहबी सबस्टेशनबाट निकालिएको लाइन चार्ज गरेर त्यस क्षेत्रमा अहिले विद्युत् आपूर्ति पनि सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रदेश १ का जिल्लाहरुमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.