स्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी नजिकै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएको प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
विस्फोट क्वेटाको कान्दाहारी बजारको मिजान चोक क्षेत्रमा नियमित गस्तीमा रहेको प्रहरीको गाडीमा भएको बताइएको छ । उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल लगिएको थियो ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
