काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नगरेको दाबी गरेका छन्।
रासससँग कुरा गर्दै उनले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाएर मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार र हातपात नगरेको भन्दै मन्त्रालय तथा सिंहदरबार परिसरमा रहेका सीसीटीभी क्यामेरा हेर्दा प्रष्ट हेर्न सुझाव दिए। ‘आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीका फुटेज उपलब्ध गराउन सक्नेछ’, उनले भने।
उनले कतिपय काममा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने भन्दै उनले मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर रहने बताए।
निगमबाटै क्रृतिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्ष अधिकारीसँग स्पष्टीकरण मागेको र त्यसपछि पनि पटक–पटक सचेत गराइरहेको उनको भनाइ छ।
आलेले उडान संख्या वृद्धि भएको तर जापानलगायत मुलुकमा जाने सर्वसाधारण र विद्यार्थी तथा भारतमा उपचारमा जाने बिरामीले टिकट सहजै नपाएको दाबी गरे।
मन्त्री आलेले सम्झाइबुझाइ गरी कैयौँ पटक मौका दिए पनि त्यसमा सुधार नआएको बताए। आफूले स्पष्टीकरण मागेपछि त्यसलाई रोक्न कार्यकारी अध्यक्ष अधिकारीले धेरै शक्तिकेन्द्रबाट आफूमाथि अनैतिक दबाब दिएको दाबी गरे।
आफ्नाविरुद्धमा निरन्तर प्रचारमा लागेका केही व्यक्तिले अनर्गल समाचार लेखाएको पनि उनको आरोप छ।

