लमजुङ । गुमानसिंह अर्यालले कहिल्यै हार ब्यहोर्नु परेको छैन । बेँसीशहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल हुनुभएको छ । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बन्न सफल हुनुभएको हो ।पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं २०४३ मा उहाँ ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च बन्नुभएको थियो । उक्त बेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उहाँ प्रधानपञ्च हुनुभएको थियो । विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो ।
सोपश्चात् विसं २०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धी गर्नुभएका बराल पराजित हुनुभयो तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित हुनुभयो ।विसं २०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनःबेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदावर बनायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, हार्नुभयो । यता कांग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित हुनुभयो ।
विसं २०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल विसं २०७४ को निर्वाचनमा होमिनुभयो । तर, अर्यालले २९७ मतान्तरले पौडेललाई हराउनुभयो । अर्यालले त्यतिबेला सात हजार ६२४ मत प्राप्त गर्नुभएको थियो भने पौडेलले सात हजार ३२७ मत प्राप्त गरेको थियो ।सो बेलामा नेकपा माओवादी केन्द्रसँग मिलेर एमाले चुनावमा होमिएको थियो । तर यसपटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्जाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले कांग्रेस, गठबन्धको तर्फबाट कांग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै दुई हजार आठको फराकिलो मतान्तरले जित हासिल गर्नुभएको छ ।
अर्यालले नौ हजार ४७९ मत प्राप्त गरेको गर्नुभएको छ भने कांग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गर्नुभयो । विसं २०३७ देखि कानून व्यवसायमा लाग्नुभएका अर्याल वरिष्ठ अधिवक्तासमेत हुनुहुन्छ । उहाँ जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भइसक्नुभएको छ । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहनुभएको उहाँ यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटकपटक कमिटीमा बसेर काम गरिसक्नुभएको छ ।अर्याल करिब चार दशकदेखि जनप्रतिनिधमा क्रियाशील रहँदै आउनुभएको छ । उहाँ विसं २०४३ देखि हालसम्म भएका पाँच वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढिरहनुभएको छ । उहाँले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उहाँको भनाइ छ ।“नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु”, अर्यालले भन्नुभयो । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उहाँ तर्क गर्नुहुन्छ ।
