काठमाण्डौ । सरकारले विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था गर्न सरकारले आग्रह गरेको हो ।
कतिपय विद्यालयमा शिक्षकले नै मास्क नलगाउने गरेको पाइएको अभिभावकको गुनासो छ । विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व शिक्षक र प्रधानाध्यापकको भएकाले विद्यार्थीको सुरक्षामा ध्यान दिन सरकारले आग्रह गरेको छ ।
