काठमाडौँ । सांसदहरुले कणार्ली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसद्हरु निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको हो ।दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको सांसद् धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायतका आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म ७५ प्रतिशत काम भइसकेको पुल चाँडो सक्न हामीले भनेका छौँ, अहिले तीन चार महिनादेखि काम ठप्प छ ।”
टोलीले विगतमा ठेक्का भएका कतिपय पुल अझै निर्माण अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएको छ । झण्डै तीन÷चार वर्ष पहिले योजनामा परेका अरु कतिपय पुल प्रक्रियामा नगएको भन्दै त्यसलाई अघि बढाउन भनिएको सांसद् धामीले बताउनुभयो । सचिव श्रेष्ठले महाकाली पुलमा जतिसक्दो चाँडो डिजाइन अनुमोदन गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारले चार वर्ष पहिले महाकाली नदी पारी रहेको दोधारा–चाँदनीलाई जोड्ने गरी पुल निर्माण सुरु गरेको थियो । सो पुलले दोधारा चाँदनीलाई भीमदत्त नगरपालिकासँग जोड्नेछ ।
