अब ‘मर्निङ वाक’ समेत निस्कन नपाईने, अटेरी गरे कडा कारबाही गरिने

अब ‘मर्निङ वाक’ समेत निस्कन नपाईने, अटेरी गरे कडा कारबाही गरिने

३ भदौ २०७७ काठमाडौँ । उपत्यकामा अबदेखि मर्निङ वाकमा निस्केपछि कारबाही हुने भएको छ । अत्यावश्यक नभएको काममा निस्कने वित्तिकै कारवाहीमा पर्ने गरि निषेधाज्ञा लागु भएको छ । रातिदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार प्रहरीले कडाई गरेको छ ।

“मर्निङ वा इभिनिङ वाक जान्छु भनेर पनि भन्न नपाईने भन्दै सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताए । आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरण यो अवधिमा लागु नहुने उनको भनाई छ । सवारी पाससमेत जारी नगरिने निषेधाज्ञाको आदेश भएको छ । उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ । प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए ।

आदेश पालनामा कुनै कसर बाँकी नराख्ने भन्दै कडायतले उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ । राति १२ः०० बजेदेखि भदौ १० गतेसम्म आदेश लागू हुनेछ ।

के गर्न हुने के गर्न नहुने ?

  • अनावश्यकरुपमा मानिस घरबाट निस्किए कारवाही हुने ।
  • सार्वजनिक तथा नीजि सवारीसाधनसमेत निस्कन नपाउने ।
  • खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत बन्द । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक ।
  • स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने।
  • काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन रोक ।
  • कोभिड १९ को सङ्क्रमण, रोकथाम, उपचार तथा व्यवस्थापन कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने ।
  • राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म मात्र आवागमन गर्न पाउने ।
  • सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने ।
  • पत्रकारलाई आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने।

 


Thali Mobile Pvt.Ltd.