३० साउन २०७७ भक्तपुर । अनलाइन माध्यमबाट विद्यालयहरुले पठनपाठन गर्नुको विकल्प नरहेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो केही सातामा कोभिड १९ संक्रमितको संख्यामा वृद्धि भएसँगै खतरा बढिरहेकोले व्यक्तिगत सुरक्षा नै महत्वपूर्ण भएको दावी गरेका छन् ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्दै प्रजापतिले यस्तो बताएका हुन । कोभिड १९ का कारण शिक्षा, स्वास्थ्य, पर्यटनलगायत सबै क्षेत्रमा प्रभाव परेको भन्दै विषम् परिस्थितिमा सावधानीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । अहिले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले व्यवस्थित रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको जानकारी दिदै नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै लाने प्रयास गरिरहेको बताए ।
लकडाउनका कारण अधिकांश विद्यार्थीहरुले बीचमै पढाई छोड्ने स्थिति आउन सक्नेतर्फ सचेत पार्दै १३ वटा नाकाहरुमा कडाई गर्ने तयारी अगाडि सारेको जानकारी दिए । यसैबीच बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले अनलाइन कक्षा प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा विद्याथीहरु निकै अन्योलमा परेको बताए । शासक दलको उदासीनताकै कारण देशको स्थिति झन् बिग्रँदै गएको जिकिर गर्दै गोसाइँले लकडाउनको समयलाई शिक्षक र विद्यार्थीले सिर्जनशील काम गरी सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
बैठकमा इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले कोभिड १९ संक्रमण दिन प्रतिदिन बढ्दै गएकोप्रति सजग पार्दै अनलाइन माध्यमबाट पठनपाठनमा विद्यालयहरुले ध्यान दिनु आवश्यक रहेको बताए । त्यस्तै इसानका पूर्वअध्यक्ष सरोजराज गोसाइँले लकडाउनका कारण बहुसंख्यक विद्यार्थी शिक्षाबाट बञ्चित हुनुका साथै शिक्षकहरुको जीविका कष्टकर हुँदै गएको बताए ।
बैठकमाा इसानका अध्यक्ष प्रेमजन थापाले शिक्षा क्षेत्र र विद्यालयमा आश्रित शिक्षकको परिवारमा पुगेको असरलाई मध्यनजर गर्दै नेपाल सरकारले विलम्ब नगरी राहतको योजना ल्याउनु पर्ने आवश्यकता औल्याए । बैठकमा संघका केन्द्रीय सल्लाहकार आशाकुमार चिकंबन्जार, पुष्पलाल सुजखु, महासचिव पुरुषोत्तम ग्वाछालगायतले आ—आफ्नो धारणा राखेका थिए ।
