गण्डकी । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शिवालय वर्ष सम्मान २०७७ बाट पाँचजनालाई सम्मान गरिएको छ । उक्त अवसरमा शैक्षिक सत्र २०७६ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारका साथै विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।
सम्मानित हुनेमा विद्यालयका शिक्षक धनबहादुर गुरुङ, पूर्वअध्यक्षद्वय तिलबहादुर थापा र हीराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घका पूर्वअध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुङ्गाना हुनुहुन्छ । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताउँदै कोरोना महामारीका बीचमा पनि प्रभावकारीरुपमा पठनपाठन सञ्चालन गरेकामा प्रशंसा गर्नुभयो ।
शैक्षिक सुधारका लागि शिक्षासँग सम्बन्धित सबै पक्षको समान सक्रियता आवश्यक भएको उल्लेख गर्दै उहाँले प्रविधिमैत्री शिक्षाका लागि गाउँपालिकाले यस वर्ष शिक्षकहरूसँगको साझेदारीमा ‘एक शिक्षक ः एक ल्यापटप’ कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाप्रमुख सन्दीप पौडेलले शिवालयको शैक्षिक प्रगति सबैले देख्न सक्ने गरी अघि बढेको बताउँदै लगातार दुई वर्षसम्म गाउँपालिकाभित्रको उत्कृष्ट विद्यालयका रुपमा शिवालय पुरस्कृत भएकामा प्रशंसा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले शिवालय माविलाई शैक्षिक र भौतिक दुवै ढङ्गले उत्कृष्ट बनाउनेतर्फ आफूहरु लागिपरेको धारणा राख्नुभयो । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, रुपा गाउँपालिका–२ का कार्यवाहक वडाध्यक्ष हिता रुपाखेती, पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार तिलबहादुर थापा, सल्लाहकार बलबहादुर गुरुङलगायतले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । रासस
