भर्खरै : Sorry, your browser does not support inline SVG.

इरानी प्रस्ताव अस्वीकार भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ फेरि बढ्यो

इरानी प्रस्ताव अस्वीकार भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ फेरि बढ्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्ध अन्त्यका लागि अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णतः अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ फेरि बढेको छ ।

इरानले पाकिस्तानमार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान गर्दै अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानी समाचार संस्था तस्निमले जनाएको छ । इरानले युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने र हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि अघि सारेको छ ।

यससँगै एशियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ दशमलव १ प्रतिशतले बढेर १०५ अमेरिकी डलर पुगेको छ । गएको फेब्रुअरी २८ देखि शुरू भएको युद्धका कारण हर्मुज जलमार्ग प्रभावित बनेपछि विश्वका विभिन्न मुलुकमा तेल र ग्यास आपूर्तिमा अवरोध सिर्जना भएको छ ।

हर्मुज जलमार्ग अवरुद्ध हुँदा पानीजहाजमार्फत हुने ऊर्जा आपूर्ति प्रभावित बनेको र त्यसकै असरस्वरूप अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको विश्लेषण गरिएको छ । अमेरिकाले हर्मुज जलमार्ग खुला गर्नुपर्ने र इरानले परमाणु पदार्थ प्रशोधन कार्य स्थगित गर्नुपर्ने शर्तसहित १४ बुँदे प्रस्ताव अघि सारेको थियो ।

यसअघि राष्ट्रपति ट्रम्पले इरान युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहु ले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध अन्त्य नहुने अडान राख्नुभएको थियो । शान्तिवार्ताका लागि अप्रिलको शुरूमा युद्धविराम घोषणा गरिएको भए पनि केही छिटपुट घटनाबाहेक युद्धविरामको अवस्था कायम रहेको जनाइएको छ ।

इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालसम्म लम्ब्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.