भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकी सैनिकबाट चीनमा काेराेना संक्रमण फैलिएको खुलासा : प्रेम सुवाल

अमेरिकी सैनिकबाट चीनमा काेराेना संक्रमण फैलिएको खुलासा : प्रेम सुवाल

९ साउन २०७७ भक्तपुर । चिनिया कम्युनिष्ट पार्टीले सहयोग स्वरूप दिएकाे स्वास्थ्य सुरक्षा सामग्री भक्तपुर नगरपालिकामा हस्तान्तरण गरिएकाे छ । संघीय सांसद तथा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मित्र पार्टीले ५ हजार थान सर्जिकल मास्क सहयाेगस्वरूप दिएकाे भन्दै भक्तपुर नगरपालिकाकालाई हस्तान्त्रण गरेका हुन ।

नगरप्रमुख सुनिल प्रजापतिमार्फत शुक्रबार एक समारोहबीच हस्तान्तरण गरिएकाे हाे । समारोहमा नगर प्रमुख प्रजापतिले सहयोगस्वरुप प्राप्त मास्कहरू सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई १ हजार थान, भक्तपुर क्यान्सर अस्पताललाई १ हजार थान, भक्तपुर अस्पताललाई १ हजार थान र भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई २ हजार थान हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा कोभिड १९ भाइरस चीनको उहानमा गत वर्षको अक्टोबरमा खेलकुदमा भाग लिन गएका अमेरिकी सैनिकहरुबाट चीनमा संक्रमण फैलिएको नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बताए । याे यथार्थलाई ढाकछोप गर्न संरा अमेरिकाले ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ जस्ता भ्रम फैलाइरहेको साँसद सुवालले दावी गरे ।

चीनले कोभिड १९ संक्रमित एक सयभन्दा बढी देशहरूमा स्वास्थ्य स्वयम्सेवक र सामाग्रीहरू सहयोग प्रदान गर्दै आइरहेको छ भन्दै सांसद सुवालले नेपाल–भारत खुला सीमाका कारण नेपालमा कोभिड संक्रमणको खतरा झन बढेको बताए । चीनमा धेरै जनसंख्या भएर पनि समयमै आवश्यक सावधानी अपनाएकै कारण रोगको संक्रमण नियन्त्रण भएको बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा र नेमकिपाको तर्फबाट चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताप्रति धन्यवाद दिदै भक्तपुर नपाले चीनलगायत अरु देशहरूले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गरिरहेको उपायबाट शिक्षा लिंदै काम गरिरहेको बताए । लकडाउनको समयमा स्थानीय जनताबाट सकारात्मक साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरका जात्रा तथा पर्वहरू औपचारिकतामै सम्पन्न भएको बताए ।

कार्यक्रममा भक्तपुर जिल्लाकाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ नियन्त्रणको लागि भक्तपुर नपाले गरेका गतिविधिहरु सराहनीय र अरु स्थानीय तहहरुको लागि उदाहरणीय रहेको बताइन् । भक्तपुर नपाका कोभिड १९ नियन्त्रणका सबै गतिविधिहरुले गर्दा नगरमा कोभिड १९ नियन्त्रण भएको र सांस्कृतिक नगरको सांस्कृतिक गतिविधिहरुको औपचारिकतामा सीमित गर्न सकिएको उनकाे भनाइ छ ।

भदौ १ गतेबाट मुटुसम्बन्धी सम्पूर्ण सेवा सुरु गरिने

यसैबीच कार्यक्रममा सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका इन्चार्ज डा. प्रेम ज्ञवालीले कोरोना भाइरसबाट जोगिन व्यक्तिगत सुरक्षा उपाय र सामाजिक दुरी कायम गरी बस्नु नै उत्तम भएको बताए । लकडाउनको समयमा अंग प्रत्यारोपण केन्द्रले निरन्तर सेवा दिएको भन्दै केन्द्रले २०७७ भदौ १ गतेबाट मुटुसम्बन्धी सम्पूर्ण सेवाहरू सुरु गर्ने जानकारी दिए  ।भक्तपुर क्यान्सर अस्पताल रेडिएसन अनकोलोजिस्ट विभागीय प्रमुख उज्ज्वल चालिसेले संकटको घडीमा अस्पतालले सञ्चालन गरेको सेवा र सुविधाहरूबारे अवगत गराउदै लकडाउनको समयमा यातायात अभावका कारण बिरामीहरूलाई अप्ठ्यारो स्थिति सिर्जना भएको बताए ।

तस्बीरमा… Bkt

भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतमले कोभिड १९ नियन्त्रणका लागि भक्तपुर नगरपालिकाले खेलेको भूमिका सराहनीय भएको र निजी अस्पतालले सबै सेवा बन्द गरेको अवस्थामा पनि भक्तपुर अस्पतालले सम्पूर्ण सेवाहरू सञ्चालन गरेको बताइन् । जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले कोभिड १९ नियन्त्रणका लागि केन्द्रबाट गरेको गतिविधिबारे अवगत गराए ।

उनले लकडाउनमा पनि जनस्वास्थ्य केन्द्रले आकस्मिक सेवा निरन्तर सञ्चालन गरी आवश्यक सेवाहरू प्रदान गरिरहेको बताए । २०७२ सालको विनाशकारी भूकम्पमा चिनियाँ कम्युनिष्ट पार्टीले जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरलाई १ लाख थान सर्जिकल मास्क सहयोग गरेको स्मरण समेत गरे । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कोभिड १९ रोकथामका लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्थाहरूले आर्थिक र भौतिक सहयोग प्रदान गरिरहेको जानकारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.