सुर्खेत । सात वर्षीय बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुर्खेत प्रहरीले शव फेला पारेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला परेको हो ।
आइतबार विहान १०ः०० बजे बालिका घर नजिकैको पसलमा सामान किन्न गएकी थिइन् । अबेरसम्म पनि बालिका घर नफर्केपछि आफ्न्तले सोमबार विहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए ।
बालिका हराएको खबर प्राप्त भएपछि इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा पाँच प्रहरीको टोलीले खोजतलास सुरु गरेको थियो । खोजतलास गर्दा स्थानीय देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव प्रहरी फेला पारेको थियोे ।
घटना अनुसन्धानको क्रममा रहेको प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।
