काठमाडौँ । चीन–नेपाल सीमा क्षेत्रमा गएको भीषण बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित तिब्बतको ग्यिरोङ क्षेत्रमा चिनियाँ प्रधानमन्त्री ली छ्याङ पुगेका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङपछि दोस्रो वरीयतामा रहेका प्रधानमन्त्री लीले बिहीबार ग्यिरोङ टाउनको स्थलगत निरीक्षण गरेका हुन् । उनले बाढीपहिरोबाट प्रभावित स्थानीय बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीसँग भेट गरेका छन् ।
बुधबार चीन–नेपाल सीमा क्षेत्रका विभिन्न स्थानमा भीषण बाढी र पहिरो गएको थियो । त्यसबाट ग्यिरोङ सीमा बन्दरगाह क्षेत्र पनि ठूलो रूपमा प्रभावित भएको छ । सडक तथा अन्य पूर्वाधारमा क्षति पुग्नुका साथै स्थानीय बासिन्दा प्रभावित भएका छन् । चिनियाँ आपत्कालीन उद्धार टोली बिहीबार ग्यिरोङ सीमा बन्दरगाह क्षेत्रमा पुगेको थियो । उक्त क्षेत्रलाई विपद्को मुख्य प्रभावित क्षेत्रमध्ये एक मानिएको छ ।
भीषण बाढीपहिरो गएको करिब २२ घण्टापछि मात्रै पहिलो चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । सडक अवरुद्ध हुनुका साथै प्रतिकूल मौसमका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो ।
चिनियाँ पक्षले प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा रहेका मानिसको खोजी तथा उद्धारलाई तीव्र बनाएको छ । घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका थिए ।
